अँध्यारो छिचोल्दै
Tuesday, 16 June 2009 07:46
- कुमार आले

काठमाडौँका केही युवाले एउटा सानो कोठाबाट शुरु गरेको अँध्यारोेविरुद्धको अभियान अँध्यारोेमै बिलाउने हो कि भन्ने चिन्ताले सताउँथ्यो मलाई। यस्तैमा शिल्पी, सर्वदा, कालचक्र नेपाल र स्रष्टा चैत्र ३० जस्ता संस्थाका कार्यक्रममा केही कविले अँध्यारोविरुद्ध शीर्षकका कविता वाचन गरे, शिल्पीले नाटक देखायो। कार्यक्रम निकै सुन्दर भएपनि शहरमा त्यसबारे धेरैलाई अत्तोपत्तो थिएन।

समसामयिक अस्वाभाविक राजनीतिप्रति असन्तुष्ट छु म। तर, राजनीतिबाट अछुतो हुन नसक्ने यथार्थलाई पनि सबैले स्वीकार्नैपर्छ। मुलुकमा अहिले विरोधको लहर चलेको छ र त्यसको शैली विस्मयकारी छ। राज्यले आफ्नो कर्तव्य बिर्सिएजस्तो देखिन्छ भने राजनीतिक नेताहरू सरकारसम्बन्धी खिचातानीमा व्यस्त छन्। यही बेला अँध्यारोविरुद्धको रङ्गकर्मीहरूको अभियानमा सामेल हुन पुगेँ र शिल्पीले कचहरी नाटक तथा कविता वाचन कार्यक्रम लिएर अभियानलाई पूर्वतिर लैजाने भएपछि त्यो टोलीमा मिसिएँ।

मैले धेरै नाटक हेरेको छु। तर, रत्नपार्कमा हेरेको पहिलो सडक नाटकले गहिरो प्रभाव पारेको छ। यस्ता नाटकको अन्त्यमा समस्या समाधानका लागि दर्शकको भूमिका खोजिन्छ। यस्तै थियो कचहरी को अँध्यारोविरुद्धको अभियान पनि। ५ वैशाखमा हाम्रो टोली काठमाडौंबाट हिँड्यो। नारायणगढ, हेटाँैडा, चन्द्रनिगाहपुर, जनकपुर, लहान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, फिक्कल, इलाम, फिदिम, जोरसाल, धरान, धनकुटा र हिलेमा कचहरी प्रस्तुत गर्‍यो। सबै ठाउँमा नाटक हेर्ने दर्शकको 'इरो लागेको थियो। प्रत्येक ठाउँमा नाटक देखाउँदा म दर्शकबीच पुग्थें र उनीहरूका कुरा सुन्दै अनुहार हेर्थें। नाटक कुनै समस्यामा पुगेर रोकिन्थ्यो र त्यसको समाधान दर्शकले दिन्थे।

काठमाडौंमा किताब नछापिएर पाँचथर वा डडेलधुराका विद्यार्थीले पढ्न नपाएको, जातीय दङ्गा हुँदा काठमाडौंले जिल्लामा सुरक्षा नदिएको, काठमाडौंले पासपोर्ट नपठाउँदा विराटनगरका नागरिक मारमा परेका, पाडो मर्दा राजमार्ग बन्द भएको जस्ता जल्दाबल्दा समस्या नाटकका विषयबस्तु थिए। यसैगरी, स्थानीय सरकार बलियो बनाउनुपर्छ भन्दै नागरिकहरू आन्दोलनमा 'र्लिएको र संघीयताको माग उठेको बेला सरकारले गाउँमा लैजान लागेको बाटोलाई मुखियाले आफ्नो गाउँबाट तथा हतियारधारीले आफ्नो जातिको बस्तीतिरबाट लैजानुपर्छ भन्ने अड्डी कसेको विषय पनि नाटकमा समेटिएको थियो। बाटो कताबाट लैजाने भन्ने विवाद चरम अवस्थामा पुगेको बेला नाटक रोकिन्थ्यो र कताबाट लैजानु उपयुक्त हुन्छ भन्ने राय दर्शकबाट लिइन्थ्यो। दर्शकलाई पिरोलेको विषय र त्यसमा उनीहरूको धारणाले पनि मह140व पाउने भएपछि धेरै ठाउँबाट नाटकको माग आयो।

थरुहटको बन्दका कारण पूर्वबाट फर्कने क्रममा हामी इटहरीमा रोकियौं। साँझ् झ्मक्क परिसकेको थियो। १९ जनाको हाम्रो टोलीका धेरै सदस्य असुरक्षित महसूस गर्दैथिए। त्यही बेला देखिएका सशस्त्रका प्रहरीको दुई वटा गाडीले एस्कर्टिङ गरिदेलान् र हिँड्न पाइएला भन्ने आश जाग्यो। हाम्रो बसलाई अरू बसको लाइनमा लगायौं। हामी अगाडिको गाडी नेपालयको रहेछ। बसमा कुन्द दीक्षित दाइसँगै अर्पण शर्मालगायतका नेपालयका साथीहरू भेटिए। घिमिरे युवराज हाम्रो टोलीका अगुवा थिए। तर, एस्कर्टिङ गर्न मिल्नेभन्दा बढी भयो भनेर हाम्रो बसलाई प्रहरीले लाइन बाहिर निकाल्न लगायो।

बन्दले सुनसान इटहरीमा हामी निराश थियौं। कर्फ्यू लागेकाले घुम्न जाने कुरा पनि भएन। तर, त्यसैबेला प्रहरीको अर्काे गाडीले केही अगाडिसम्म पुर्‍याएर एस्कर्टिङसहित अघि हिँडेको गाडीहरूको लाइनमा हामीलाई मिसाइदियोे। कोशीको बाढीले बनाएको मरुभूमि छिचोलेर व्यारेज पुगेपछि गाडीहरूको लाइनबाट हामी छुट्टियौं, बन्दकर्ताले हाम्रो गाडी रोकिदिए। हाम्रो अगुवा युवराजले विराटनगरका पत्रकार अनन्तराज न्यौपाने र डीआईजी शारदाभक्त रञ्जितसँग गुहार मागेपछि मात्र बल्ल सुरक्षा पायौं।

बन्दकर्ताका कारण राजमार्गको बाटो अघि बढ्न सक्ने स्िथति थिएन। त्यसैले राजविराज जाने बाटो पहिल्यायौं। ठाउँठाउँमा देहाती बस्ती थिए। त्यो सुनसान बाटोमा साना केटाकेटीले पनि तर्साउँथे। बिरालाले बाटो काट्दा पनि अर्काे बस अघि नबढेसम्म रोकिन्थ्यौं। केही परे युवराजबाहेक कोही नबोल्ने सल्लाह गरेका थियौं। प्रहरीको एउटा टोलीले आफ्नो इलाका कटाउँथ्यो र त्यहाँबाट अर्काे टोलीले सुरक्षा दिन्थ्यो। नाटकका निर्देशक राजन खतिवडा ड्राइभर सुत्ला भनेर चनाखो थिए। यस्तै त्रासमा हामी रातको साढे दुई बजे पथलैया आइपुग्यौं।

त्रासबीच बाटोभरि मैले सम्झै― तराईमा पहाडी र मधेशीको नाममा द्वन्द्व चलिरहेको बेला पनि शिल्पीले तराईका धेरै जिल्लामा मधेश-तराई कचहरी देखाएको। तत्कालीन जनप्रतिनिधिहरूले आफ्नो ठाउँ जान नसकेको स्िथतिमा देउता सम्झ्ँदै कलाकारहरूलाई नागढुङ्गाबाट बिदा गरेको सम्झ्िएँ। ती कलाकार फर्कंदा उनीहरूको आँखा र अनुहारमा देखिएको सफलताको चमकको पनि त्यसबेला मलाई याद आयो। वास्तवमा यो यात्रा पनि त्यस्तै भयो।

राजनीतिमा जस्तै सबै ठाउँमा विकल्प हुन्छ भनिन्छ। त्यसो हुँदैनथ्यो भने बन्द चितवनलाई छल्न बाइरोडको बाटो कसरी उपस्िथत हुन्थ्यो हाम्रा अगाडि। शायद देशले पनि अहिले अराजकताको विकल्प खोजिरहेको छ।

(१-१५ जेठ, २०६६ को हिमाल खबर पत्रिकाबाट साभार)