|
Friday, 29 May 2009 10:12 |
|
- घिमिरे युवराज विधागत रुपमा हेर्ने हो भने अन्य धेरै क्षेत्रका व्यक्तित्वहरुका बारेमा कृति आइसक्दा पनि रङ्गमाचमा त्यस्तो काम सून्य नै थियो । नाटककारहरुका बारेमा बरु केही कृति प्रकाशित छन् तर रङ्गकर्मीहरुलाई नै यसरी एकमुस्ट समेटेर आएको पहिलो कृति हो- एक दर्जन एक । त्यसैले मरुभूमिमा एउटा विरुवा उमि्रए जस्तो भएको छ यो कृतिको प्रकाशन । प्रशिद्ध गीतकार तथा रङ्ग समीक्षक रमण घिमिरेद्वारा लिखित १३ जना रङ्गकर्मीहरुको जीवनीको निवन्धात्मक आलेख हो यो । ख्यातिप्राप्त व्यक्तित्वहरुको जीवनका संघर्ष सुखदुःख पेशाप्रतिको लगाव सफलता असफलता आदिका कथा प्रेरणाका स्रोत जीवन बुझ्ने माध्यम वा आफ्नो कामको सफलताका खुड्किला हुन सक्छन् । ती व्यक्तित्वहरुको जीवनीको विधागत विशिष्टता त झन् हुन्छ । विधागत विशिष्टतालाई हेर्दा मजस्ता रङ्गमाचमा कामगरिरहेका धेरै युवाहरुका लागि अग्रजलाई बुझ्ने सरल माध्यम हो यो कृति । यस कितावलाई नेपाली रङ्गकर्मीहरुको शब्द अभिलेखको महत्वपूर्ण सुरुवात पनि मान्न सकिन्छ ।
मलाई धेरै अघिदेखि लागेको कुरा हाम्रो शैक्षिक क्षेत्रमा धेरै वर्षदेखि विभिन्न सर्जकहरुका बारेमा पढाइ हुँदै आएका छन् । पाठ्यक्रममा जीवनी पढेकै आधारमा एउटा बच्चाले म लेखक डाक्टर वा इन्जिनियर बन्छु भन्ने सपना बोक्छ । साहित्यकार वैज्ञानिक राजनीतिज्ञ वा विभिन्न सामाजिक व्यक्तित्वका बारेमा पाठ्यक्रममा राखिन्छ भने रङ्गकर्मीलाई पनि उसरी नै पाठ्यक्रममा राख्न किन नहुने । यो कृति पाठ्यक्रम स्रोतको पनि बलियो उदाहरण भएको छ । त्यसो भए अबको पाठ्यक्रममा ुएक दर्जन एकु वा यस्तै जीवनी पढेर कुनै एउटा बच्चाले म रङ्गकर्मी बन्छु भन्ने सपना देख्न किन नपाउने? कृति भित्रका १३ जना व्यक्तित्वहरु रङ्गकर्मीहरुले नपढीनहुने छन् । हरिप्रसाद रिमाल श्यामदास वैष्णव प्रचण्ड मल्ल महेन्द्र मलंगिया मदनदास श्रेष्ठ हरिहर शर्मा मनप्रसाद मुखिया शकुन्तला शर्मा अशेष मल्ल सुनील पोखरेल वीरेन्द्र हमाल निशा शर्मा पोखरेल र अनुप बरालमाथि लेखिएका यी आलेखले नेपाली रङ्गमाचका प्रतिनिधि मुलक कामका बारेमा बोलेका छन् । रमण घिमिरेले नेपाली रङ्गमाचका यी प्रतिभाशाली सर्जकहरुका बारेमा मिहिन रुपमा अक्षरहरुले कुँदेर कृति तयार पारेका छन् । उनी आफैले कृतिलाई 'शब्दचित्रमा रङ्गकर्मी' भनेका छन् । यतिखेर हामी रङ्गकर्मीहरुमा एउटा परिक्षणको घडी आएको छ एउटा रङ्गकर्मीले अरु रङ्गकर्मीकै बारेमा पढ्ने कति चासो राख्छ त हैन भने खडेरीका बीचमा प्रकाशित भएको यो कृतिको प्रथम सस्करण त इलिक न मिलिक हुनु पर्ने हो । हेरौं दिनहरु बाँकी छन् । हरिप्रसाद रिमालको समय गतिविधिका हिसाबले नेपाली रङ्गमाचको उर्वर काल थियो । उनलाई पढ्दा पारसी रङ्गमाच सम र कवितात्मक नाटक यथार्थवादी अभिनय देखि के सक्कली के नक्कली जस्तो कमेडी नाटकसम्मको शैली बुझिन्छ । नाचघर र रेडियो नेपाल पनि बुझिन्छ । श्यामदास वैष्णवलाई पढ्दा नेपाली रङ्गमाचमा महिला कलाकार कसरी आए बुझ्न सकिन्छ । प्रचण्ड मल्ललाई पढ्दा काठमाडौको रङ्गमाच इतिहासको पुरै वासना आउँछ । उनी नेपाली रङ्गमाचको इतिहास लेख्ने असली इतिहासकार हुन् । नेपालका एकमात्र औपचारिक शिक्षा प्राप्त माच परिकल्पनाकार हुन् । निर्देशक हुन् । नाटककार हुन् । महेन्द्र मलंगियालाई पढ्दा मैथिली रङ्गमाच शैली प्रस्तुति र सामाजिक रुपमान्तरणमा नाटकको भूमिका बुझिन्छ । रेडियो नाटकको इतिवृत्तान्त मदनदास श्रेष्ठले बोल्छन् । यसैगरी बाँकी हरेक रङ्गकर्मीहरुले आफ्नो समय शिल्प र संघर्षका कथा बोलेका छन् । यिनलाई पढ्नु भनेको त समय पढ्नु हो सिप पढ्नु हो नेपाली रङ्गमाच पढुनु हो र आफ्नो ज्ञानलाई फराकिलो बनाउनु हो । कृति भित्रका १३ रचनाहरुमा सर्जक रमण घिमिरेको लेखन शैलीको बेग्लै काव्यात्मक स्वाद छ । यी रचनाहरु सुत्रवद्ध छैनन् । एक त व्यक्तित्वमा विविधता छ भने ती व्यक्तित्वहरुमाथिको लेखन हरेक एकको भन्दा अर्को व्यक्तित्वका बारेमा फरकफरक प्रस्तुति छ । एकजना व्यक्तित्वका बारेमा जे जे जानकारी पाउन सकिन्छ अर्को व्यक्तित्वका बारेमा त्यही विषयमा नभएर अन्य खाले जानकारी पाउन सकिन्छ । हरेक व्यक्तित्वको आफ्नो विशिष्टता र खुबीमा केन्द्रित छन् रचनाहरु । जस्तैः रिमालको गायनतिर वैष्णवको महाकवि र राम्रो अक्षरतिर मल्लको माचसज्जातिर सुनील पोखरेलको अभावमा संघर्षतिर पनि रचना ढल्किएको छ । कोलाज जस्तो छ लेखन । सबै रङ्गकर्मीका केही समानता चािहं भेटिन्छन् । स्कुलमा पढाइमा कमजोर र रङ्गमाचमा लागेपछि आर्थिक अभाव । यो सत्यता नेपाली रङ्गमाचको ठूलो रोग हो । रमण घिमिरे आफै पनि एक समय सर्वनाम नाट्य समूहसँग आबद्ध व्यक्तितव हुन् । उनले रङ्गमाच बुझेका छन् । वर्षौं देखि भोगीरहेका व्यक्तित्वहरुका बारेमा अक्षरमा उतार्दा अझै जीवन्त भएर आएको छ यो कृति । घिमिरेले व्यक्तित्व र घटनालाई विम्बमा प्रयोग गर्ने तरिका पनि रोचक छ । जस्तैः -उनलाई प्रथम उडानमा गँडबाट भरखर पखेटा फटफटाउँदै निस्केको पक्षीको बचेराको जस्तो गगनमा उड्नाले लालसाका बेगले तरङ्गित पार्न थाल्यो । -यसरी उनी रङ्गमाचको नसामा गोता लगाइरहेका थिए । -उनले रङ्गमाचमा लागेर अफ्ठ्याराहरुका अनेकौं कछाड फटाए थुप्रै चट्टीहरु घिसारेर दुलो पारे र अनगिन्ती लोतीहरु चुँडाए । -लोकपि्रयताको स्वाद चाख्ने रहर मूल फुटेर निस्केको फोहराजस्तो आँतबाटै तोडले हान्निएर आउँथ्यो । -उनको प्रतिष्ठाको शिर ओताउने अकाश पनि रङ्गमाच हो अस्तित्वलार्य टेकाउने धर्ती पनि रङ्गमाच नै हो र उनका खुसीहरुले बाँच्नका लागि सास फेर्न अक्सिजन प्राप्त गर्ने थलो पनि त्यही रङ्गमाच मात्रै हो । -उनको धरातलमुनि अस्तित्व टेकाउने माटो पनि थिएन र सपनाहरुलाई गोता लगाउने आकाश पनि थिएन । खालि चिथोर्ने विवशताहरुसँग हातेमालो गरिरहेको शून्यता थियो । -उनीहरुको यस प्रयत्नको हाँगो परिस्थितिको हुरीले भाँचिदियो र 'उडायो सपना सबै हुरी' को नियति बाँच्न बाध्य भए । रमण घिमिरेले यी रोचक वाक्य क-कसलाई प्रयोग गरेका छन् थाहा पाउन कृति नै पढ्नु पर्छ । डा। गोविन्दराज भट्टराईले कृतिमा उस्तै सुन्दर भूमिका लेखेका छन् । मलाई विश्वास छ बजारले यो कृतिको नयाँ सस्करणको पनि माग गर्ने छ ।
|