तीन नाटक
Friday, 29 May 2009 08:48

 - घिमिरे युवराज

नाटककार अभि सुवेदीको यो चौथो नाट्य कृति हो । यसभन्दा अघि आरुका फूलका सपना पांच नाटक र अंग्रेजी अनुवाद थ्री प्लेज प्रकाशित थिए । यी सबै नाटक संग्रहलाई हेर्दा अभि सुवेदीका नाटक भिन्न स्वभाव बोकेर प्रकाशित छन् । त्यो भनेको के भने मन्चनको प्रचुर सफलतापछि मात्रै तिनका नाटक कृतिका रुपमा आएका छन् । नाटककार वा रंगकर्मीका लागि खुशीको कुरा हो मन्चनको प्रयोग र चर्चापछि यसको पाठ्य रंगमाचका शैली स्वभाव र तस्विर समेत समेटिएर छापिए । यस्ता कृतिले रंगमाचमा ईतिहास कोर्छन् । यसरी कृति छापिनु रंगमाचको इतिहास लेखिनु हो । तर मन्चन भैसकेको कृतिका बारेमा लेख्नु ठूलो जोखिम पनि हो । मिाचत नाटक हेरिसकेकाले कृतिका बारेमा लेख्न बस्ता पाठलाई दृश्यले जितेर आउंदो रहेछ । नाटककार आफैले यस कृतिको भूमिकामा भनेका छन्- 'यी नाटकको उत्पत्तिथलो रंगमाच हो । यी नाटकहरु कि त नाट्यकर्मी र निर्देशकका अनुरोधमा लेखिएका हुन् कि त तिनले चाहना गरेका विषयमा लेखिएका हुन् ।

यस नाटक संग्रहमा जम्मा ३ वटा नाटक छन् । तीन नाटकमध्येको एउटा नाटक हो मायादेविका सपना । यस नाटकको मूल विषय युद्धकालीन अवस्था र सामान्य मानिसहरुको जीवन हो । यहां भएको लामो जनयुद्ध र त्यसबाट प्रभावित मानिसहरुको पीडालाई यस नाटकमा मुलत मायादेवी नामकी बृद्धा महिलाबाट हेरिएको छ । उनको जीवन दृष्टिकोण र घटनासंगै नाटकमा अरु पात्रहरु थपिएका वा मिसिन आएका छन् । उनका श्रीमान् लाहुर गएका उतै बिते । छोरो किशोर नहुंदै जंगल पस्यो । अत्तोपत्तो छैन । उनी त्यही छोराको प्रतिक्षामा छिन् । सरकार र विद्रोहीका सेनाहरु आएर गाउंलेलाई सताइ रहन्छन् । यिनै समस्याहरुका बीचमा मायादेवी पीडा बोल्छिन् सबै नेपालीहरुको । सम्बाद र कुरा गर्ने शैली हेर्दा नेपालको पूर्वतिरकी बृद्ध महिला जस्तो लाग्छ । उनी चराचुरुंगीसंग पनि कुरा गर्छिन् । सांच्चैको जीवनमा पनि यसरी चारो दिदै चराचुरुंगीसंग आफ्ना मनका कुरा गर्ने महिला भेटिन्छन् । यस नाटकमा एउटा महत्वपूर्ण प्रयोग छ । मायादेवीले सपनामा प्राचिन मायादेवीले सिद्धार्थ गौतम जन्माएको सपना देख्छिन् । यही सपनका आधारमा पाठक वा दर्शकले नाटकमा बृद्ध मायादेवी र प्राचीन मायादेवीमा समानता खोज्छन् । युद्धमा गएको सिद्धार्थ र ध्यानका लागि हिंडेको सिद्धार्थलाई एकाकार बनाउंछन् । यही मिलानका कारणले एकदिन नाटक हेरेपछि एकजना दर्शकले आक्रोसित हुंदै नाटककार सुवेदीलाई भने- 'तपाईले सिद्धार्थ गौतमलाई किन बन्दुक बोकाउनु भयो ?' यो तिनको बुझाई थियो । यस नाटकलाई निर्शा शार्मा पोखरेलले निर्देशन गरेकी हुन् । नेपालमा दर्जनौ पटक र भारतका केही शहरमा पनि मन्चन गरिकिएको छ ।
दोस्रो नाटक जीवनदेखि जीवनसम्मले बौद्धधर्म अनुयायीका कथालाई लिएर संसारिक जीवन र मुक्तिको कुरा गरेको छ । सन्की राजाले नागरिकहरुलाई दुःख दिन्छ । दुःख खप्न नसकेर मानिसहरु भिक्ष्ा भिक्ष्ाणीको जीवन धारण गर्छन् । भिक्ष्ाणी उत्पलले सांसारिक जीवनमा गरेको अनेकौ डरलाग्दा यात्रापछिको भिक्ष्ाणी जीवन र भिक्ष्ाणी अनमामिकाको सांसारिक जीवनमा फर्कने चाहना यी दुई विरोधाभासले जीवनका विषयमा नयां विचार दिन्छन् । यस नाटकलाई सुनील पोखरलेले निर्देशन गरेका हुन् । यसको पनि दर्जनौ प्रदर्शन गरिसकिएको छ ।

यी दुबै नाटकले माचनको सफलता पाए । दुवै नाटकमा कोरसको प्रयोग माच सज्जा र निर्देशनले नाटकलाई माथि उठाएको छ । बलियो पाठ नाटकको अर्को बलियो आधार हो । अभि सुवेदीका नाटकको एउटा विशेषता के भने उनले प्राय नाटक पृष्ठभूमिका कुनै सयम इतिहास र संस्कृति राखेर लेख्छन् । यो नाटकको ठूलो शक्ति हो भन्ने लाग्छ मलाई । चरित्रहरु पनि भाषाका आधारमा भने स्थान विशेषका लाग्दैनन् । प्राय सबै चरित्रले बोल्ने शैली उही हुन्छ ।
त्यो तेस्रो नाटक बिम्बाको सपनालाई लेखकले कलाकारकै अनुरोधमा लेखिएको भनिएता पनि हालसम्म माचन भने भएको छैन । यो एकल नाटक हो । नाटकमा अन्य अर्जनौ चरित्रहरु छन् तर ती नेपथ्यमा छन् आवाजको रुपमा कि त मुख्य पात्र बिम्बाको सम्बोधनमा आउंछन् । सम्बादमा आउंछन् जान्छन् । भौतिक शरीरमा आउंदैनन् । नाटकमा बिम्बा सिद्धार्थ गौतमकी श्रीमती हन् । सिद्धार्थले दरबार छोडेर गएपछिको उनको मनोदसा आफ्नो छोरो राहुलाई बोकेर दरबारका आफ्ना सबै उत्तरदायित्व निर्वाह गरेर श्रीमतीका पक्षबाट संसारलाई हेर्छिन् उनी । सिद्धार्थ गौतम निर्माणापछि बुद्ध बनेर आउंदाको क्षणमा सारा नागरिकले हेर्ने दृष्टिकोण र बिम्बाको संसारमा परेको प्रभाव नाटकमा छ । कोरस गान बुद्धको आवाज र अन्य मानिसहरुको आवतजावतले एकल सम्बादलाई बलियो बनाएको छ ।