|
Sunday, 24 May 2009 05:26 |
|
-घिमिरे युवराज भकुण्डोमा जादुगरी देखाउने विश्व प्रसिद्ध खेलाडी पेले र रङ्गमाचमा जादुगरी आविष्कारक अगष्टो बोएलको गाउँ एउटै रहेछ । यी दुबै जन्मिएको गाउँको नाम हो ब्राजिलको रियो द जेनेरियो । उमेरले समकालीन र एउटै गाउँका भएर पनि यी दुबै खेलाडीबीच मित्रता थियो कि थिएन थाहा छैन । तर आज यी दुवै नाम विश्वमाझ चर्चित छन् । विधा विल्कुलै फरक भए पनि भकुण्डो खेल र रङ्गमाचमा केही समानता छन् । यी दुबै सामुहिक खेल हुन् । पेलेले जसरी भकुण्डोको सहाराले मान्छेका आँखालाई घोर् याए बोएलले पनि सारा मजदुर आदिवासी र ब्राजिलका अधिकांश मानिसहरुलाई रङ्गमाचमा घोर् याए । सन् सत्तरीको दशकमा यिनले आविष्कार गरेको समाजमा दविएकाहरुको नाटकु (Theatre of the oppressed) अर्थात जनताको रङ्गमाच आज विश्वमा प्रशिद्ध छ । असी छुन लागेका रङ्गमाचका पेले अगष्टो बोएल अहिले पनि आफ्नो अभियानमा सकि्रय छन् । विश्वमा अहिले जिवित चर्चित रङ्गकर्मीहरु मध्ये अगष्टो बोएल पनि एक हुन् ।
अगष्टो बोएल बजदुर संगठन (Workers' Party,PT) का नाइके हुन । सुरुमा यिनी पनि अरुले जस्तै पारम्परिक नाटक गर्थे । ब्राजिलको मूलधारको रङ्गमाचमा लोकपि्रया मानिएका बोएलको समूहको नाटम हो- एरिना । नाटकमा मजदुरहरुलाई खेल्ने गर्थे । गाउँ-गाउँ छिरेर सडक नाटक गर्थे । सडक नाटकमा भूमिहीन किसान मजदुर र गरिवहरुका बारेमा क्रान्तिकारी नाटक देखाउँथे । नाटकको औषत गति यस्तो हुन्थ्यो । भूमिहीन मजदुर वा गरिवहरुको आर्थिक र सामाजिक समस्या देखाइन्थ्यो । भूमिपति धनाढ्य वा मजदुर मालिकहरुले आफ्नो खलनायकी स्वभाव देखाउँथे । अति नै भएपछि ती थिचिएका मानिसहरुमा क्रान्तिकारी रस भरेर खलनायकहरुसँग बिद्रोह गर्थे । र अन्त्यमा कलाकारहरुले क्रान्तिकारी गीत गाएर नाटक सक्थे । एक पटक भयो त्यस्तै । बोएल भूमिहीन किसाहरुको विरुद्धमा नाटक गर्न ब्राजिलको कुनै गाउँ पुगेछन् । नाटकमा भूमिपतिले भूमिहीनहरुलाई दबाएको दुःख दिएको देखाइयो । अति भएपछि भूमिहीनहरु बन्दुक बोकेर भूमिपतिहरुको विरुद्धमा ओर्लिए । र क्रान्तिकारी गीतसँगै नाटक सकियो । नाटकमा आफ्नो जित भएको देखेर भूमिहीन किसानहरु दङ्ग परे । उनीहरुले बोएल लगायत कलाकारहरुलाई बधाई पनि दिए । कलाकारहरुको टोली दङ्ग पर् यो । एकछिनपछि तिनै भूमिहीन किसानहरु आएर बोएललाई भनेछन्- 'लौ हामीसँग जौं । हामीले पनि नाटकमा जस्तै भूमिपतिहरुको विरुद्धमा बन्दुक बोक्ने निर्णय गर् यौं ।' बोएलले भनेछन्- 'हामी त कलाकार हौं । यी सबै बन्दुक नक्कली हुन् ।' त्यसपछि किसानहरुले भनेछन्- 'ए यी बन्दुक नक्कली पो हुन् ! ठीकै छ त्यसोभए सक्कली बन्दुक चाँही हामी खोज्छौं । हाम्रो आन्दोलनमा अघि नाटकमा देखाए जस्तैगरी साथ दिनु पर् यो ।' बोएल एकपल्ट झस्किए । उनले भने- 'त्यो त नाटक पो हो त !; नाटकमा देखाए जस्तो सबै कुरा साँच्चीकै गर्न सिकंदैन । बन्दुक बोकेर जान मिल्दैनु भने । ए नाटकमा बन्दुक चाहिँ देखाउने अनि रगत चाहिँ हामीले बगाउनु पर्ने भन्दै रिसले उ त्यहाँबाट गयो । यो घटनाले बोएल र उनका साथीहरुको दिमागमा घण्टी बज्यो । त्यसपछि बोएलले दुई वर्ष नाटक गरेनन् । बोएल भन्छन्-'मैले बामपन्थी नेता चे ग्वेयराको एउटा भनाइ सम्झेँ । तिमी अरु त्यो कुरा नसिकाऊ जुन कुरा तिमी आफू गर्न सक्दैनौ ।' त्यसपछि बोएलले केही वर्ष लगाएर रङ्गमाचमा यस्तो शैलीको अभ्यास गरे जुन अत्यन्तै व्यवहारिक मानिन्छ । बोएलको यही शैलीलाई 'थिचिएकाहरुको नाटक' भनिन्छ । बोएल भन्छन्-ुयो नाटकले जीवनका लागि पूर्वाभ्यास गराउँछु । यस शैली भित्र अनेकौ तरिकाहरु छन् । ती मध्ये फोरम थिएटर नेपालमा कचहरी नाटक एउटा तरिका हो । यस तरिकामा नाटक एउटा समस्यामा गएर रोकिन्छ । जस्तैः रक्सी खाएको श्रीमान्ले श्रीमतीलाई कुटिरहेको अवस्थामा सुत्रधारले नाटक रोक्छ र दर्शकहरुलाई सोध्छ- यस्तो अवस्थामा श्रीमतीले के गर्नु पर्छ भनेर । दर्शकहरुले भन्न सक्छन्-श्रीमान्लाई फकाएर खाना ख्वाएर सुताउने वा गाउँले बोलाउने वा बाँधेर कुट्ने । दर्शकहरुले खासगरी पीडितहरुले जे सल्लाह दिन्छन् कलाकारले त्यही गरेर देखाउनु पर्छ । बोएल एक पटक यस्तै एउटा कथा माथि नाटक माचन गर्दै थिए । कथा यस्तो थियो । एउटा परिवारमा लोग्नेले पल्लो सहरमा घर बनाउँदैछु भनेर हरेक महिना श्रीमतीसँग पैसा माग्दो रहेछ । धेरै महिना यसरी नै लोग्नेले श्रीमतीसँग पैसा धुत्यो । केही महिनापछि श्रीमतीले थाहा पाइन् लोग्नेले अर्को सहरमा कान्छी श्रीमती राखेको रहेछ । र त्यो पैसा घर बनाउन हैन त्यो श्रीमतीको लागि खर्चिदो रहेछ । श्रीमती अचम्भित भएर श्रीमान्लाई कराई । तर श्रीमान्ले उसको कुरै सुनेन । ती महिलाको यही कथामाथि बोएलले नाटक माचन गरे । ।श्रीमान् घरभित्र पसीरहेको अवस्थामा नाटक रोकियो । र सुत्रधारले दर्शकलाई सोधे-यस्तो अवस्थामा यी महिलाले के गर्नु पर्ला दर्शकहरुले धेरै सल्लाह दिए । कसैले भने लोग्नेलाई सम्झाउनु पर्छ । कसैले भने समाज बोलाउनु पर्छ । अनेकौं सुझाव आए । र दर्शकहरुको भनाइ अनुसार कलाकारहरुले नाटकमा अभ्यास गरेर देखाए । तर ती पीडित महिलालाई नाटकमा देखाएको कुनै पनि उपाय चित्त बुझ्दो लागेन । त्यसपछि ती महिला आफै एउटा कुचो बोकेर गइन् र लोग्नेलाई बेस्कन कुट्न थालिन् । उनले भनिन्-'यसलाई यसरी नै सम्झाउनु पर्छ ।' अगष्टो बोएल फेरि चकित आए । फोरम थिएटरमा उनले अर्को आयाम थपे । पहिला उनको नाटकमा दर्शकहरुले सुझाव मात्रै दिन्थे । अब दर्शकले आफै पनि पीडितको भूमिका गर्न सक्ने भए । नाटकमा भएको पीडितको भूमिकामा कुनै पनि दर्शकलाई बोलाउने र दर्शकको उपाय अनुसार नाटकलाई अगाडि बढाउने । बोएल भन्छन्- 'नाटकमा दर्शकबाट अनेकौ उपायहरु आउँछन् । हामीले गाउँमा गएर कसैलाई सिकाउनु भन्दा त्यहाँ आएका उपायहरु खासमा काम लाग्ने र उपयोगी हुन्छन् ।' उनलको नाटकको सिद्धान्त अनुसार जसले दुःख भोगिरहेको छ । ऊ आफैले दुःखबाट उम्कने प्रयास गर् यो भने सायद ऊ सफल हुन्छ । सहरका केही कथित जान्नेहरुले सिकाएको 'फर्मुला'ले उनीहरुको समस्याको समाधान असम्भव छ । बोएलले 'दविएकाहरुको नाटकु (Theatre of the oppressed) अन्तर्गत अन्य धेरै तरिकाहरुको आविष्कार गरेका छन् । फोरम थिएटर लगायत अदृश्य नाटक (Invisible Theatre) मूर्ति नाटक (Image Theatre) आदि यसका उदाहरण हुन् । आज यो शैली संसारका धेरै देशहरुमा प्रसिद्ध छ । नेपालमा यसलाई आरोहण नाट्य समूहले धेरै सदसम्म अभ्यास गरेको छ । फोरम थिएटरलाई कचहरी नाटक बनाएर आरोहणले नेपालमा सामाजिक आन्दोलनै गरेको छ । म आफैले पनि दर्जनौ नाटकहरुमा सुत्रधारको भूमिका निर्वाह गरेको छु । नाटकमा अभिनय गरेको छु । नेपाल बाहिर जस्तै मिथिलान्चलमा दाइजोको विरुद्धमा डोटी र सिन्धुलीमा जातीय छुवाछुतका विरुद्धमा सिन्धुपाल्चोकमा भूमिहीन किसानका पक्षमा कचहरी नाटकले आन्दोलनको भूमिका खेलेको छ । बोएल भन्छन्- 'यो शैलीले रङ्गमाचको पुरानो ढर्रा र अरुलाई सिकाउने बानीलाई तोडेको छ । आज यो शैलीले किनारमा परेका मानिसहरुलाई स्वर दिएको छ ।' बास्तवमै आज अगष्टो बोएल यसै सैलीका कारणले संसारमा पेले जत्तिक्कै चर्चित छन् ।
|